धनगढी । कैलालीमा तस्करीको सामान बिक्री गरेको आरोप लागेका एकजना प्रहरी सहायक हवल्दारलाई कारबाही गरिएको छ ।
त्रिनगर प्रहरी चौकी धनगढीमा कार्यरत प्रहरी सहायक हवल्दार विक्रम चन्दलाई कारबाही स्वरुप काज फिर्ता गरिएको हो ।
अछाममा दरबन्दी रहेका चन्द कैलालीको त्रिनगर प्रहरी चौकीमा सादा पोसाकमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार कारबाही स्वरुप उनको काज फिर्ता गरिएको हो ।
उनीमाथि भारतबाट तस्करी गरेर ल्याइएको सामान जफत गरेर कबाड व्यापारीहरूलाई बिक्री गर्दै आएको आरोप लागेको थियो ।
सो आरोप लागेपछि तत्कालीन सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक रविन्द्र केसीको निर्देशनमा कैलालीका डीएसपी कविन्द्रसिंह बोहराको नेतृत्वमा छानबिन टोली गठन गरिएको थियो ।
टोलीको प्रतिवेदनका आधारमा चन्दलाई कारबाही गरिएको बताइएको छ ।