काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पूर्वउपाध्यक्ष डा. भीम रावलप्रति कवितात्मक शैलीमा कटाक्ष गरेका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले भर्खरै पार्टीले कारबाही गरेर हटाएका रावलको नाम नलिएरै कटाक्ष गरेका हुन् ।
डा. रावललाई यही पुस १० गते बसेको सचिवालय बैठकले पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका रिमालले कवितात्मक शैलीमा स्टाटस लेख्दै ३९ सालयता आफूहरू निरन्तर पार्टी संगठन निर्माणमा लागिरहेको तर रावलले सधै पार्टीभित्र विवादका लागि मौका खोजीमा रहेको आरोप लगाए ।
‘‘अनवरत ‘किच–किच’ गरेर बसिरहे। प्रत्येक चुनौती चिर्दै पार्टीले उचाइ छोएको बेला, सुरु भएको विवादमा, हामी एकताको पक्षमा उभियौँ,’’ उनले लेखेका छन्, ‘‘उनले विभाजनको बाटो रोजे । बाटो मात्र रोजेनन्, त्यस समूहलाई पनि बीचमै छोडे, अन्तै दौडिए। ‘आदर्श’का गफ र ‘अर्ति–उपदेश’का पोका बोकेर यताउता गरिरहे ।’’
फेरि एक समय ‘जोरीपारी’हरू ‘एमाले विनाको राजनीति’को खेतीमा लागेका बेला उनी ‘ओलीविनाको एमाले’ भन्दै उफ्रिएको रिमालको दाबी छ ।
विभाजनको लागि कसैलाई (माधव नेपाल) उचालेर एकता भन्दै आफू अर्कातिर अल्झिएको रिमालको तर्क छ । फेरि नयाँ चुनौती सामना गर्ने बेलामा पार्टी छोडेर पार्टीकै विरुद्ध खनिएको उनको आरोप छ ।
उनले लेखेका छन्, ‘‘सानै सही, असहमत ‘अरुहरु’ले दुःखैले बनाएको घरमा लुसुक्क छिरे, ‘वन साङ्लाले घर साङ्लालाई लखेटेझैं उल्टै हाकिम पल्टिए ।’’
अहिले फेरि रावलले कतै ‘टाँड’ पो पर्छ कि ! कतै औँला घुसार्न पो मिल्छ कि भनेर मौका पखेर कुरिरहेको रिमालको आरोप छ । त्यसैले रावलले ‘ओलीले छोड्नुपर्छ, उकुसमुकस भएको छ ।’
उनले रावललाई चुनौती दिँदै भनेका छन्, ‘अरे यार ! ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर ! आफ्नो घरको मझेरीमा, आँगनमा, गन्द्रयाङ, गुन्द्रुङ गरिरेहका तिम्रा ‘हाँडा–भाँडाहरू, बज्न नदेऊ न ! ढोका खोलुन् कि छेस्किनी लाउन्, अरूले उनीहरूका घरमा, जे गरुन्–बाल मतलव !'
पार्टी अनुशासन पालना नगरेको लगायत कारण देखाउँदै डा. रावललाई निष्कासित गरिएको थियो । साथै स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । सो निर्णय पश्चात एमालेमा तरंग पैदा भएको छ ।