काठमाडौं । नवलपरासीको सुस्ता क्षेत्रका पीडित बासिन्दाले आफ्ना विभिन्न मागसहित आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।
मंगलबार सुस्ताबासीले भारतीय सुरक्षाकर्मीबाट विभिन्न प्रकारका दुःख, दबाब र अवरोध भोग्नुपरेको गुनासो गर्दै माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
‘सुस्ता बचाउ अभियान’अन्तर्गत आयोजना गरिएको प्रदर्शनमा भारतीय अतिक्रमण रोक्न प्रभावकारी कूटनीतिक पहल, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता र भोगचलन गरिरहेको जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने उनीहरुका माग छन् ।
‘उनीहरूले सुस्ता बचाउ, सुस्तावासीलाई बचाउ’, ‘सीमा, नागरिकता र लालपुर्जाको रक्षा गर’, ‘अतिक्रम होइन, सार्वभौम सम्मान दे’ लगायतका प्लेकार्ड बोकेका थिए ।
गौशालाबाट सुरु हुने र्याली बत्तीसपुतली, मैतीदेवी, पुतलीसडक, प्रदर्शनीमार्ग र भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेर सभामा परिणत भएको थियो ।

उनीहरु आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउन राशनको बन्दोबस्तीका साथ आजै काठमाडौं पुगेका थिए ।
यसअघि आइतबार बुटवलमा ‘सुस्ता बचाउ अभियान’ र ‘सुस्ता बचाउ युवा अभियान’ले संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए। अभियानका प्रतिनिधिहरूले सरकारको निरन्तर उपेक्षाका कारण निर्णायक आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन्।
उनीहरूका अनुसार आफ्ना समस्या राख्न पटक-पटक प्रधानमन्त्रीको सचिवालयसँग समय माग्दा पनि सुनुवाइ हुन सकेको छैन। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पटक-पटक नेपाली भूभागमा प्रवेश गरी स्थानीयलाई त्रसित बनाउने गरेको सुस्ताबासीको भनाई छ ।
गत जेठ २९ गते पनि एसएसबीको टोली नेपाली बस्तीमा प्रवेश गरी स्थानीयमा असुरक्षा र अन्योल सिर्जना गरेको उनीहरूको आरोप छ।