काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले भीम रावललाई तपाईंको नेतृत्वको प्रामाणिकता के हो ? भन्दै प्रश्न गरेका छन् ।
एमालेबाट निष्कासित नेता डा. रावलले बुधबार काठमाडौंको बानेश्वरस्थित कार्की बैङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्नैप्रश्न गरेका थिए ।
प्रतिवादमा उत्रिएका अध्यक्ष बडालले स्टन्ट गरेर पार्टीलाई देखाउने हो भने पार्टीको हित कहाँ जाने हो ? भन्दै प्रश्न गरेका हुन् । 'पार्टीको उन्नति र विचारको लागि साँचो आत्मालोचना र सुधार गर्नुहोस्, न कि सत्ताको खेल,' उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
साथै उनले डा. रावललाई नेकपा एमालेको अध्यक्ष (केपी शर्मा ओली) लाई आरोप लाउने नैतिक धरातल नभएको बताए ।
उनले भनेका छन्, 'एमालेले तपाईंलाई नेता बनायो, पद र नेतृत्वमा हुँदा सुदुरपश्चिमका फरक मतलाई तपाईले गरेको हत्याको पाप तपाईंलार्ए लागेको हो । तपाईंसँग नेकपा एमालेको अध्यक्षलाई आरोप लाउने नैतिक धरातल छैन् ।'