काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन र चैतमा विरोध प्रदर्शन र विरोधसभाहरु गर्ने भएको छ ।
राप्रपाको तीन दिन बसेको केन्द्रीय कार्यसमितिको बैठकले जनजीविकाका सवालहरुलाई लिएर फागुनमा प्रदेश र स्थानीय तह तथा चैतमा काठमाडौँ केन्द्रित विरोसभा गर्ने निर्णय गरेको हो।
‘राप्रपाले आफ्ना मूल राजनीतिक एजेण्डा, नेपाल सरकार समक्ष पेसगरेको ४० बॅुदे माग र जनजीविकाका सवालहरुलाई लिएर विरोध सभाका कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ,’ प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि फागुन महिनामा प्रदेश र जिल्ला तहमा विरोध प्रदर्शन र जागरण सभा हुनेछ भने चैत महिनामा काठमाडौँ केन्द्रीत कार्यक्रम गर्ने निर्णय गरेको छ। काठमाडौँ केन्द्रीत कार्यक्रमको स्वरुप पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तय गर्नेछ।’
राप्रपाले गठबन्धन सरकारलाई संविधान संशोधन र कानुन निर्माणका प्राथमिकतामा चुकेको आरोप लगाएको छ। “सात बुँदे सहमतिका आधारमा गठन भएको यो सरकार आफ्नै उद्देश्यबाट च्युत भएको छ,” वक्तव्यमा उल्लेख छ।