काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सामान्य रुघाखोकी लाग्दा पनि भेन्टिलेटरभित्र अक्सिजन माक्स लगाएको तस्वीर देखाइएको गुनासो गरेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त विषयमा गुनासो गरेका हुन्।
आफू सामान्य बिरामी भएको र अहिले पनि कमजोर नै रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भने, ‘मेरो अलि अलि स्वास्थ्य राम्रो छैन । रुघाखोकी अलिक नराम्रोसँग लाग्यो। तर, मलाई रुघाखोकी, हाच्छ्युँ गरेको देख्यो भने आईसीयूमा भेन्टिलेटर लगाएको वा अक्सिजन माक्स लगाइरहेको फोटो आइहाल्छ ।जे आशले आईसीयूमा देखाउँछन्, त्यो आश पुग्नेवाला छैन ।’
उनले जुन आशले आफ्नो त्यस्ता तस्वीर देखाइएको हो त्यो पुग्ने अवस्था नभएको पनि जिकिर गरे । प्रधानमन्त्री ओली केही दिनदेखि स्वास्थ्य समस्या भएर निवासमै आराम गरिरहेका थिए ।
उनलाई चिकित्सकहरूले लामो यात्रा नगर्न आग्रह गरेपछि गत शुक्रबार भर्चुअल माध्यमबाटै सिद्धबाबा सुरुङको ब्रेक थ्रु लगायतका कार्यक्रम उद्घाटन गरेका थिए ।