काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले पाथीभरा केबलकार निर्माण पक्षले स्थानीय बासिन्दालाई सेयर र रोजगारी दिनुपर्ने बताएका छन्।
काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै सांसद भट्टराईले सो कुराले बताएका हुन् ।
सांसद भट्टराईले पाथीभरा केबलकार निर्माणका क्रममा झडपमा घाइते भएकाहरूको उपचार व्यवस्था गरी वार्ताबाटै समस्याको समाधान खोज्नुपर्ने पनि बताए।
केबलकार निर्माण पक्षले ताप्लेजुङका मानिसलाई सहुलियतको ग्यारेन्टी गर्नुपर्ने पनि सांसद भट्टराईको भनाइ छ।
सांसद भट्टराईले भने, ‘प्रभावित क्षेत्रका नागरिकहरुलाई सुलभ सेयरको व्यवस्था गर्नुपर्दछ। रोजगारीको क्षेत्रमा ताप्लेजुङवासीलाई प्राथमिकता दिनुपर्दछ। केबलकारको शुल्कमा ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलियत दिनुपर्दछ। स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्दछ।’
उनले लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको सम्मान गर्ने पनि बताए।
समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गर्नुपर्ने पनि उनले बताए। परिस्थीतिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किने खालका गतिविधिले हित नगर्ने उनको भनाइ छ।