काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भएको शिष्टाचार भेटमा उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका थिए । 'जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, यसको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ', राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । यसै सन्दर्भमा नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी दिए ।
नेपाल भ्रमणका लागि बेलायतका अधिराजकुमार एडवार्ड धर्मपत्नी सोफीसहित आजै काठमाडौँ आएका हुन् । भेटमा बेलायतका अधिराजकुमारका धर्मपत्नी सोफी, नेपालका लागि बेलायती राजदूत रब फेन सहभागी थिए ।
त्यस अवसरमा अधिराजकुमार एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणमा नेपालले गरेका प्रयासबारे भ्रमणका क्रममा जानकारी हुने विश्वास व्यक्त गरे । उनले भ्रमणका क्रममा हिमालमा जलवायु परिवतर्नले पारेका असरबारे बुझ्न पाउने अपेक्षा व्यक्त गरे ।