काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याएको अध्यादेशबारे अध्ययन भइरहेको बताएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै जसपा नेपालले अध्यादेशबारे थप अध्ययन र छलफल भइरहेको बताएको हो । संसदीय दलको अर्को बैठकमा देश र राष्ट्र हित हुने गरी ठोस निर्णय लिने जसपाले जनाएको छ ।
'प्रतिनिधिसभा र राष्ट्रियसभामा अध्यादेशलाई पेस नगरी कार्यसूचीबाटै हटाएको अवस्थामा जसपा नेपालले अध्यादेशबारे कुनै औपचारिक निर्णय आजै नलिई उक्त प्रतिवेदन उपर थप अध्ययन र छलफल गरी संसदीय दलको अर्को बैठकमा देश र राष्ट्रहित हुने गरी ठोस निर्णय लिने जानकारी गराउन चाहन्छौँ,' पार्टी अध्यक्ष उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरासियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अध्यादेशको सम्बन्धमा पार्टीलाई जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचार तथा सूचना आधारहीन र तथ्यहीन भएको जसपाले स्पष्ट पारेको छ । साथै, भ्रमित नहुन पनि आग्रह गरेको छ ।
बिहीबार दिउँसो नै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जसपा नेपालका अध्यक्ष यादवले भेट गरेका थिए । भेटमा दुई नेताले अध्यादेशमा सहयोग गर्न यादवलाई आग्रह गरेका थिए ।