काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साधेको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कार्यबाहक सभापति अर्यालले यस्तो टिप्पणी गरेका हुन् । अर्यालले शुक्रबारको संसद बैठकको शुन्य समयमा बोल्दै रविको निलम्बन फुकुवा गर्न माग गरे ।
कार्यबाहक सभापति अर्यालले भने,‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले त प्रतिशोध साध्यो साध्यो, सार्वभौम संसद्ले पनि सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ। एउटा व्यक्ति जो चौथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले पक्कै पनि चुकाउनुपर्नेछ ।’
लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको उल्लेख गर्दै उनले सार्वभौम संसदले समेत सरकारको सोही रवैयालाई समर्थन जनाएको आरोप लगाए।
एउटा व्यक्ति र चौथो ठुलो दलको सभापतिमाथिको यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले चुकाउनुपर्ने उनले बताए ।
लामिछाने संसदको चौथो ठूलो दल रास्वपाको सभापति रहेको ख्याल गर्न उनको आग्रह छ । उनले थुनामा नरहँदा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्न पनि सभामुख देवराज घिमिरेसँग माग गरे ।