काठमाडौं । उच्चस्तरीय संयन्त्रको बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरेको छ ।
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस र नेकपा एमालेको संयन्त्र बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरेको हो ।
कार्यदल बनाएर देशैभरी अन्तरक्रिया गर्ने उच्चस्तरीय संयन्त्रको बैठकले निर्णय गरेको बताइएको छ । साथै सत्तारुढ दलको बैठक शनिबार बोलाउने समेत निर्णय भएको छ । बैठकमा हालै सरकारले ल्याएका अध्यादेश संसदबाट पास गर्ने विषयमा छलफल भएको थियो ।
शुक्रबारको बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाकांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।