काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच आइतबार ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको हो । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा उनीहरू रहेका छन् ।
भेटका क्रममा उनीहरूबीच नेपाल भारत द्विपक्षीय सम्बन्ध, आपसी हित, साझा चासो र पारस्परिक लाभका विविध विषयमा कुराकानी भएको छ ।
पछिल्लो समय दुई देश बीचका द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान तथा आपसी सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।
हालै काठमाडौँमा सम्पन्न वाणिज्य सचिवस्तरीय तथा भारतको नयाँ दिल्लीमा भएको ऊर्जासम्बन्धी बैठक र तिनको प्रगतिका विषयमा पनि उनीहरूबीच कुराकानी भएको थियो ।