काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रियसभालाई वृद्धाश्रम भनेकोप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद पन्तले दुई सदनबीच द्वन्द्व उत्पन्न हुने काम कसैले गर्न नहुने बताएका हुन्।
सांसद पन्तले राष्ट्रियसभा कुनै वृद्धाश्रम नभएको बरु पाकाहरुको सदन भएको बताए।
सांसद पन्तले भने,‘हाम्रो संविधानले दुई सदनीय संसदीय प्रणाली अंगीकार गरेको छ। दुई सदनका बीचमा द्वन्द्व उत्पन्न भयो भने यसले संसदीय व्यवस्थालाई असर गर्छ । एउटा सदनको सांसदले बोलेको कुरा अर्को सदनले खेद प्रस्ताव पारित गर्ने परिस्थिति आउनु आफैँमा दुखद हो।’
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियसभा वृद्धाश्रम भएको भन्दै टिप्पणी गरेपनि आइतबार राष्ट्रियसभाले खेद प्रस्ताव पारित गरेको थियो।
सोही सम्बन्धमा बोल्दै पन्तले आपसी द्वन्द्वले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजार बनाउने बताए ।