बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्छ भनेर हल्ला गरिरहन आवश्यक नरहेको बताएका छन्।
लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले दुई तिहाइको बलियो सरकार भएकाले अब १७ महिना तोप हाने पनि सरकार नढल्ने दाबी गरे।
पूर्व सहमतिअनुसार १७ महिनापछि कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीले दोहोर्याए ।
प्रधानमन्त्री ओलीले भने,‘केही पार्टीले सरकार ढल्ने हल्ला चलाइराखेका छन् । यस्तो हल्ला नचलाइदिए पनि हुन्थ्यो । यस्तो हल्ला नचलाइ दिए पनि हुन्थ्यो । गलत हल्लाले जनतामा निराशा बढ्छ । अब १७ महिना म सरकार चलाउँछु । त्यसपछि शेरबहादुर देउवाजीलाई सत्ता छोड्छु । यो डिक्लेयर छ । हल्ला चलाउनै पर्दैन । १७ महिनालाई तोप हाने पनि सरकार ढल्दैन । जे गरे पनि ढल्दैन । प्रधानमन्त्री ढल्दैन । सरकार त दुई तिहाइको छ । जति बल गरे पनि ढल्दैन । १७ महिना पछि केही गर्नै पर्दैन।’
प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबिच अहिले कुनै आशङ्का नभएको जिकिर गरे ।
बलिया पार्टी मिलेर बलियो सरकार बनेकाले कुनै हल्लाको पछि नलागि ढुक्क भएर काम गर्न आग्रह गरे।उनले मुलुक अप्ठ्यारोमा परेपछि कांग्रेस–एमाले मिलेको दाबी गरे ।