काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीमगरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालबारे दिएको अभिव्यक्तिका सम्बन्धमा सरकार बोल्न आवश्यक रहेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद घर्तीमगरले सरकार मौन रहन नहुने बताएका हुन्। जनवरी २० मा राष्ट्रपतिको शपथ लिएलगत्तै ट्रम्पले विभिन्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
सांसद घर्तीमगरले भने,‘दुई देशको बीचको समझदारी अनुसार, सम्झौता अनुसार लागू गरिएका योजनाहरूलाइ एक पक्षीय ढंगले अमेरिकाले स्थगित गर्नु र फ्रड भन्ने कुरा वास्तवमा कुटनीतिक मर्यादा विपरीत छ । यसका सन्दर्भमा नेपाल सरकार बोल्न जरुरी छ । यसका बारेमा मुख खोल्न जरुरी छ।’
यी आदेशमध्ये केही वैदेशिक अनुदान रोक्नेसँग सम्बन्धित थियो ।
केही दिनअघि मात्रै मस्कको नेतृत्वको प्रशासनिक दक्षता विभाग (डज)ले नेपाल, भारत, बंगलादेश लगायत विश्वका कयौँ देशलाई अनेक शीर्षकमा दिँदै आएको सहायता रोकेको छ ।
डजले नेपाललाई जैविक विविधता संरक्षण गर्न र वित्तीय संघीयताका लागि दिँदै आएको रकम पनि रोकेको छ ।