प्युठान। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस एमालेसँगको सम्झौतामा इमान्दार रहेको बताएका छन् ।
प्युठान जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन्। ०८४ सालसम्म कांग्रेस–एमाले गठबन्धन कायम रहने उनले दाबी गरे।
महामन्त्री थापाले आगामी आमनिर्वाचनसम्म कांग्रेस र एमाले मिलेर जाने बताए। ३ वर्षमा परिणाम दिनेगरी एमालेसँग सत्ता साझेदारी गरिएको उनले बताए।
महामन्त्री थापाले भने,‘२०७९ सालको चुनावअघि हामीले ५ दलीय गठबन्धन बनाएका थियौं । सहमति तोडेर प्रचण्डले कांग्रेस छाडेर एमालेसँग मिल्न जानु भएको हो। हामी प्रचण्ड जस्तो होइन, एमालेसँग सरकारमा छौं, हामी इमान्दार भएर भूमिका निर्वाह गर्न चाहन्छौं। कम्तीमा २०८४ सम्म सत्ता साझेदारी गर्नेमा कांग्रेसको इमान्दारी रहन्छ । कुनै चकचक र उपद्रो गरेर यताबाट उफ्रेर अर्कोतिर जाँदैनौं।’
महामन्त्री थापाले एमालेसँग सत्ता साझेदारी गर्दा कांग्रेसका केही सर्त रहने बताए। महामन्त्री थापाले केन्द्रदेखि प्रदेशसम्म सहअस्तित्वको आधारमा एमालेसँग सहकार्य गर्ने बताए।
बीपी कोइरालाले १८ महिनाको समयमा धेरै उल्लेखनीय काम गरेको स्मरण गर्दै थापाले आगामी ३६ महिनामा नतिजा दिनेगरी कांग्रेस-एमालेले काम गर्नुपर्ने बताए ।