काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले अध्यादेशको प्रक्रिया र अन्तर्वस्तु दुवैमा असहमति जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले अध्यादेशहरू त्रुटिपूर्ण रहेकाले संसद्मा निर्णयार्थ पेस भए विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनसार केन्द्रीय कमिटी बैठकबाट प्राप्त सुझावहरूलाई समेटी तात्कालीक कार्ययोजना र अन्य दस्तावेज टुङ्ग्याउन महासचिव घनश्याम भुसालको नेतृत्वमा आठ सदस्यीय कार्यदल गठन गरेको बैठकले पार्टीका आगामी कार्यक्रम, नीति तथा योजना एकताबद्ध भएर अघि बढाउने निर्णय गरेको छ ।
पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजनामा छलफल गरेको बैठकले मुलुकको समसामयिक राजनीतिक विषयवस्तु तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थितिबारे छलफल गरेको थियो ।
बैठकमा पार्टी नियमावली, विनियम, निर्देशिका अनुसार सदस्य विस्तार तथा सङ्गठन देशभर सुदृढीकरण गर्ने विषयमा छलफल गरिएको थियो ।