काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले कार्यकारी अधिकृत नपठाएको विषयमा कडा असन्तुष्टि जनाइरहेका बेला नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारलाई तत्काल कार्यकारी अधिकृत पठाउन आग्रह गरेका छन् ।
शुक्रबार राति उनले सामाजिक सञ्जालमार्फत सरकारले विशेष व्यवस्था गरेर भएपनि महानगरमा कार्यकारी अधिकृत अविलम्ब पठाउन आग्रह गरेका हुन् ।
महासचिव पोखरेलले कार्यकारी अधिकृत महानगरपालिकामा जान नमानिरहेको भए पनि कुनै न कुनै उपाय अपनाएर महानगरमा कार्यकारी प्रमुख पठाउन जरुरी रहेको बताए ।
उनले भने, 'कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भएपनि अविलम्ब पठाउनु पर्छ। कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा असर पर्न सक्छ ।'
'काठमाण्डौं महानगरको मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउदै तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ । तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिदैन,' उनले अगाडि भनेका छन् ।
यसअघि आजै मेयर बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई डुबाउने ताकमा देशलाई नडुबाउन आग्रह गरेका थिए ।