काठमाडौं । लामो समयसम्म पनि काठमाडौं विश्वविद्यालय (केयू) मा उपकुलपति सिफारिस हुन सकेको छैन । छनोटको प्रक्रिया सकिएर पनि सिफारिस समितिले नाम सिफारिस गर्न नसकेपछि चौतर्फी दबाब बढेको छ ।
गत फागुन २ र ३ मा उपकुलपतिका लागि आवेदन दिएका २० मध्ये सर्टलिस्टमा परेका १० जनाको अन्तर्वार्ता र प्रस्तुतीकरण भएको थियो । त्यसपछि नाम सिफारिस गर्नुपर्ने हो । तर, १६ दिन वितिसक्दा पनि समितिका सदस्यहरूबीच कसकसको नाम सिफारिस गर्ने भन्नेमा मत मिल्न नसकेपछि नाम सिफारिस हुन सकेको छैन ।
समितिमा केयूका पूर्व उपकुलपति सुरेशराज शर्मा संयोजक, सदस्यमा डा. अर्जुन कार्की र पूर्व सचिव जनार्दन नेपाल छन् ।
समिति सदस्यहरूले आफूले चाहे अनुसारका व्यक्तिको नाम सिफारिस गर्न खोज्दा ढिलाइ भएको केयूका अधिकारीहरू बताउँछन् । तर, समितिका सदस्यहरू यो विषयमा बोल्न चाहँदैनन् ।
उपकुलपतिको दौडमा भोला थापा, राजेन्द्रप्रसाद कोजु, अच्युत वाग्ले, कन्हैया झा, जर्नादन लामिछाने, बालचन्द्र लुँइटेल, विभूति रञ्जन झा, वेदमणी दाहाल, राजेन्द्रप्रसाद कोजु, श्याम नारायण लाभ र सुबोध शर्मा छन् । यि १० जनाबाट तीन जनाको नाम छनोट गर्न समितिलाई सकस भएको हो ।
केयूको उपकुलपति छनोट प्रक्रिया यसपटक सुरुदेखि नै विवादमा परेको थियो । डाक्टरहरूले आवेदन दिन नपाउनेगरी कार्यविधि बनाएपछि संशोधन गरेर दोस्रो पटक आवेदन माग गरिएको थियो । समितिले १८ पुसमा उपकुलपतिका लागि खुला आह्वान गर्यो ।
सबैलाई समेट्न भन्दै १८ माघमा दोस्रो पटक पनि आवेदन माग गरियो । जसमा २० जनाको आवेदन परेको थियो । यसमध्ये १० जना सर्टलिस्टमा परेका हुन् । गत ६ माघदेखि उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि नयाँ उपकुलपति नियुक्ति प्रक्रिया अगाडि बढाइएको हो ।
यसैबीच, उपकुलपति सिफारिसमा गैरप्राज्ञिक गतिविधि बढेको भन्दै प्राध्यापक संघले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । तीन दिन भित्र नाम सिफारिस गर्न अल्टिमेटम दिएको संघले सो समयसम्म नाम सिफारिस नभएपछि आन्दोलनको घोषणा गरेको हो ।

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष डा. विकास अधिकारी र महासचिव तेजेशमान शाक्यले जारी गरेको संयुक्त विज्ञप्तिमा पहिलो चरणमा सात दिनका लागि शान्तिपूर्ण दबाब कार्यक्रमसहित आन्दोलन घोषणा गरेको उल्लेख छ ।
यदि सात दिने अवधिमा पनि विश्वविद्यालयको नयाँ उपकुलपति खोज तथा सिफारिस समितिबाट छनोट प्रक्रिया टुंगोमा नपुगेमा तत्काल आवश्यक पहल गरी उपयुक्त निर्णय लिन कुलपति एवम् प्रधानमन्त्री तथा सहकुलपति एवम् शिक्षा मन्त्रीलाई प्राध्यापक संघले अपिल गरेको छ ।
त्यसपछि पनि उपकुलपति नियुक्त नभएमा अर्को चरणको दबाबमुलक आन्दोलन घोषणा गर्न बाध्य हुने प्राध्यापक संघले जनाएको छ ।
यसअघि १४ माघमा केयूका ७ वटा स्कुलका डिन र एसोसिएट डिनले उपकुलपतिको नाम मेरिटको आधारमा सिफारिस गर्न छनोट समितिलाई आग्रह गरेका थिए । १३ जना डिन र एसोसिएट डिनहरूले संयुक्त वक्तव्य निकालेर कार्यविधि अनुसार नाम सिफारिस गर्न भनेका हुन् ।
माघ १४ गते जारी विज्ञप्तिमा भनिएको थियो–‘तीन जनाको नाम समयमै सिफारिस गरी तीमध्येबाट एक जना उपकुलपतिका रूपमा विश्वविद्यालयले छिट्टै पाउने आशा र भरोसामा छौं । तर, छनोट प्रक्रियालाई लिएर विभिन्न सञ्चार माध्यम मार्फत आइरहेका टिप्पणीहरूले हाम्रो ध्यानाकर्षण भएको छ ।’
सर्ट लिस्टमा परेका १० जनाको अंकभार तोडमोड गर्न लागेको विषय उठेको भन्दै डिन र एसोसिएट डिनहरूले समितिको ध्यानकर्षण गराएका छन् । ‘उम्मेदवारले पाएको अंकलाई तोडमोड गरिँदै छ, नयाँ नयाँ सर्त अघि सार्ने काम भएकाले समितिमा अरु सदस्यलाई अप्ठेरो परेको छ भन्ने भनाइहरूलाई गलत सावित गरी खोज तथा सिफारिस समिति आफैंले स्वीकृत गरेको प्रक्रिया र मापदण्डमा आधारित भई तीन जनाको नाम यथाशीघ्र छिटो सिफारिस हुनेमा आशावादी छौं,’ वक्तव्यमा भनिएको छ ।