काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नयाँ बजेट तयार गर्ने क्रममा गोजीका आयोजना अन्त्य गर्ने बताएका छन् ।
‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व पहिलो संशोधन विधेयक २०८१’माथि सांसदहरूले राखेको विरोधको सूचना सम्बन्धमा जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले योजना छनौट गर्दा गोजीका आयोजना अन्त्य गर्ने पक्षमा रहेको बताएका हुन्।
यसका लागि सांसद र संसद्को सहयोग अपेक्षा गरेको उनले बताए। अर्थमन्त्री पौडेलले भने,‘योजना छनौटको विषयमा माननीयले प्रश्न उठाउनु भएको छ । गोजीको योजना अन्त्य गर्ने पक्षमा म दृढतापूर्वक उभिन चाहन्छु । त्यसका निम्ति सदनकोरहाउसको र माननीयको दह्रो साथ चाहिन्छ । त्यसका लागि अग्रिम रूपमा अनुरोध गर्न चाहन्छु।’
बजेटमा सांसद, मन्त्री र नेताले गोजीबाट निकालेको चिर्कटोका आधारमा योजना पारिएको भन्दै सांसदहरूले विरोध जनाउँदै आएका थिए ।
बजेट बनाउँदा गोजीका आयोजना अन्त्य गर्ने पक्षमा आफू रहेको पौडेलले दोहोर्याए। उनले बजेटको सिलिङ तोक्ने अधिकार योजना आयोगको रहेकोमा अर्थ मन्त्रालय समेत सहभागी हुँदा दुई निकायबीच कुनै असमझदारी नरहेको बताए।
मन्त्री पौडेलले बजेटपूर्वको छलफल (प्रिबजेट) बजेट भन्दा ३ महिना अगाडि गर्दा या एक महिना अगाडि गर्दा के फाइदा या बेफाइदा भयो भन्नेबारे समीक्षा गर्नुपर्ने बताए ।