Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

सत्तामै बसेर एमालेसँग कस्तो वार्गेनिङ गर्न खोज्दै छ कांग्रेस ?

सत्तामै बसेर एमालेसँग कस्तो वार्गेनिङ गर्न खोज्दै छ कांग्रेस ?

मंगलवार , चैत्र ४, २०८१

काठमाडौं। केन्द्रमा जस्तै कर्णाली प्रदेशमा पनि नेकपा एमाले र नेपाली कांग्रेसको सरकार छ । केन्द्रमा सहज ढंगले सरकार अघि बढिरहेको छ । यसको पछिल्लो उदाहरण हो–सोमबार मात्रै भएको नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरण ।

केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो भन्दा पनि सत्ता साझेदार दल नेपाली कांग्रेसको रोजाइमा परेको दिपक थापालाई नेपाल प्रहरीको ३१औं आईजीपीमा नियुक्ति गरेको छ ।

तर, कर्णालीमा भने सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबिचको सहकार्य ठिक ढङ्गले चल्न सकेको छैन । सत्तामै रहेर पनि कांग्रेसले एमालेसँग बार्गेनिङ गरिरहेको प्रष्टै छ ।

माघ यतामात्र कांग्रेसले तीन पटक सरकार छाड्ने धम्की दिइसकेको छ । पटक–पटक सरकार छाड्ने धम्की दिने तर सरकारमै बसिरहने कांग्रेसको प्रवित्तिलाई बार्गेनिङ भनेर लेख्दा खसै फरक नपर्ला ।

नेपाली कांग्रेसले पहिलो पटक माघ ७ गते कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढालाई बर्खास्त गर्नुपर्ने, आफूहरूले उठाएका माग सम्बोधन गर्नुपर्ने, त्यसो नगरे सरकार छाड्ने धम्की संसदबाटै दिए ।

फागुन १३ गते फेरि कांग्रेस संसदीय दलको आकस्मिक बैठकले यस्तै निष्कर्ष निकाल्यो । मुख्यमन्त्रीले राम्रो काम गर्न नसकेको निष्कर्षसहित कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री नसच्चिए कांग्रेसबाट सहभागी आफ्ना मन्त्रीहरू फिर्ता बोलाउनेसम्मको विषयमा छलफल गर्‍यो ।

त्यस्तै फागुन २८ गतेको प्रदेश सभा बैठकमा पनि सरकारबाट कांग्रेस फिर्ता हुनुपर्ने विषय उठ्यो ।

यसरी पटक–पटक सरकारबाट बाहिरिने भनेर धम्की दिइरहने तर, सरकार भने छाड्न नसक्ने कांग्रेसको प्रवित्तिले एमालेका नेताहरु आजित बनेको बताउन थालेका छन् ।

तर, कांग्रेसका नेताहरु भने त्यसलाई मान्न तयार छैनन् । मन्त्रिपरिषदमा मुख्यमन्त्रीले आफ्नो एजेण्डामात्र पास गराउन खोज्ने, कांग्रेसको कुरा नसुन्ने प्रवृत्ति नबढोस् भनेर बेलाबेला यसरी खबरदारी गर्नु परेको कांग्रेसी नेताहरुको भनाई छ । ‘यो बार्गेनिङभन्दा पनि आफ्नो अवमूल्यन नहोस् भन्नका लागि नै भएको हो ।–कांग्रेसका एक नेता भन्छन् ।

सरकारको काम–कारबाही सन्तोषजनक नरहेको र २०८१ असार १७ गते संसदमा भएको ८ बुँदै कार्यान्वयन नभएका कारण पनि कांग्रेसले ध्यानाकर्षण र खबरदारी गराएको बताउँदै आएको छ । ८ बुँदे सम्झौता हुँदा कांग्रेस प्रतिपक्षमा थियो भने सरकारमा माओवादी र एमाले थिए ।

तर, मुख्यमन्त्री यामलाल कँडेलले सम्झौतामा भएका अधिकांश विषय कार्यान्वयनमा गइसकेको संसदमै बताइसकेका छन् । उनी स्वयं आफूले सोचेजस्तो काम गर्न नसकेको तर असन्तुष्ट भइहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाई भने केन्द्रमा भएको सहमति, सहकार्यमा सरकार बनेको र यो सरकारको उद्देश्य भनेकै जनतामा व्याप्त निराशालाई निरुपण गर्नु नै रहेको दावी गर्छन् ।

कांग्रेसका नेताहरूबाट पटक–पटक असन्तुष्टिका स्वर आइरहनु राम्रो नभएको बताएका उनले भने –‘कतिपय योजना नमिलेको, ८ बुँदे कार्यान्वयन नभएको कुरा छ । त्यसमा धेरै कार्यान्वयन भइसकेको छ । तर पनि उहाँहरूले त्यही विषय पटक–पटक उठाइरहनु हुन्छ । यो राम्रो हैन । असमझदारी भएका विषय दुई नेतृत्व (दलका नेताहरू)बाट छलफल हुनुपर्छ ।’

यता नेपाली कांग्रेसका प्रमुख सचेतक हिक्मत विष्ट भने पहिला नै भएका कतिपय सहमति कार्यान्वयन हुन नसकेको बताउँछन् ।

उनी भन्छन्–‘यसमा हामीलाई अलमल्याउन खोजेको हो कि भनेर हामीले सरकारलाई दबाब सिर्जना गरेका हौं । यसैको आधारमा सरकारनै धरापमा पर्ने भन्ने हुँदैन । हामी सरकारमा सहभागी हुने, साझेदार दल भन्ने तर सहमझदारी भएका विषय, जनसरोकारका विषयमा खासै ध्यान नदिने हुँदा सरकारमा बसिरहनुको औचित्य छैन भनेका हौँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077