काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टीनिकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर उत्साहप्रद रहेको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत विजयी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै दाहालले यस्तो बताएका हुन् ।
उनले कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको आफ्नो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको बताए ।
उनले लेखेका छन्, 'भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टीनिकट अखिल (क्रान्तिकारी_ को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ। कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ। विजयी सबै विद्यार्थी साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।'
त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नतिजा धमाधम आउन थालेको छ। नजिताअनुसार प्रमुख दल निकट संगठनको अवस्था करिब–करिब उस्तै देखिएको छ । कांग्रेस निकट नेविसंघ पहिलो, एमाले निकट अनेरास्ववियु दोस्रो र अखिल क्रान्तिकारी तेस्रो स्थानमा छन् ।