काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मेरिटोक्रेसीका आधारमा नियुक्ति गर्ने गरेको दाबी गरेका छन्।
प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा रास्वपा सांसदले सोधेको प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
अहिलेको सरकारले हाम्रो मान्छे नभई राम्रो मान्छेलाई उपयुक्त ठाउँमा राखेको उनले बताए ।
रास्वपा सांसदले सोधेको ‘आफैंले नियुक्त गरेका कारण सरकार असफल भएको हो ?’ भन्ने प्रश्नको जवाफमा ओलीले सरकारले योग्य मान्छेलाई उपयुक्त ठाउँमा नियुक्ति गर्ने गरेको बताए।
प्रधानमन्त्री ओलीले भने,‘माननीयज्यूले प्रश्न भन्दा व्याख्या राख्नु भयो । कर्मचारी मैले नियुक्त गरेको होइन । अहिलेको सरकारले हाम्रो मान्छे होइन राम्रो मान्छे खोजी गर्छ र योग्य मान्छे उपयुक्त ठाउँमा राख्छ। कुनै प्रकारको भेदभाव होइन, गुण दोषका आधारमा मूल्यांकन र मेरिटोक्रेसीका आधारमा नियुक्ति गर्ने गरेको छ ।’
सरकारी नियुक्तिमा नातावाद भयो भन्ने प्रश्न अस्वीकार गर्ने ओलीले बताए।
यसअघि भएका गलत अभ्यास तोडेर सरकारले मेरिट बेसमा काम गरेको दाबी गर्दै नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति एउटा उदाहरण भएको बताए।
वर्तमान सरकार आएपछि बुटवल–नारायणगढ सडक र मुग्लिन-पोखरा सडकको कामले गति लिएको ओलीको दाबी छ।