काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत अहिले सरकार परिवर्तन गर्ने आशयमा नरहेको बताएकी छिन्।
भारत भ्रमण सकेर शुक्रबार नेपाल फर्किएकी परराष्ट्रमन्त्री राणाले सो कुरा बताएकी हुन् ।
नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिबारे धेरै कुरा नभएको भए पनि भारतीय पक्षको समर्थन भने लोकतान्त्रिक गतिविधिलाई नै रहने पाएको उनले बताइन्।
परराष्ट्रमन्त्री राणाले भनिन्,‘यहाँको राजनीतिक गतिविधिको बारेमा धेरै कुरा त गरेनौं । तर उहाँहरूको सपोर्ट चाहिँ डेमोक्राटिक सिस्टमलाई नै छ भन्ने कुरा उहाँहरूको हरेक गतिविधिबाट हामीले बुझ्न जरुरी छ । अहिलेको सरकारसँग एकदमै इन्गेज्ड हुनुहुन्छ । सरकारको सिस्टमनै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ ।’
उनले समकक्षीको हिसाबमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता भएको बताइन् । प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने आफूले भेटका लागि प्रस्ताव नै नगरेको उनको भनाइ छ ।