काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कडा आपत्ति जनाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको यो कदमलाई गलत र आपत्तिजनक भनेका हुन् ।
उनले भने, 'देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। उनको विज्ञता र हाम्रो संयुक्त प्रयासबाट नेपाल ऊज्यालो बन्न सफल भयो।'
उनले कुलमान घिसिङले जनताको बक्यौता उठाउनुपर्ने धारणा राखेकै कारण पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गरिएको आरोप लगाए। साथै, उनले आशा व्यक्त गरे कि 'सरकारको निर्णयबारे सञ्चारमाध्यममा आएको खबर असत्य सावित होस्, तर यदि सत्य हो भने, यो निर्णय सरासर गलत छ।'
उनले सरकारको बहुमतको दम्भमा गरिएको निर्णयप्रति पनि आक्रोश पोख्दै भने, 'कथित दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दछु।' आज मात्रै सरकारले घिसिङलाई पदबाट बर्खास्त गरेको हो ।