काठमाडौं । नागरिक अगुवाहरूले पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले पुनः राजसंस्था पुनर्स्थापनाको पक्षमा गरिरहेको गतिविधिको भर्त्सना गरेका छन् ।
मोहना अन्सारी, राजन कुइँकेल, कनकमणि दीक्षित, दिनेश त्रिपाठी, रीता परियार, सुशील प्याकुरेल, चिरञ्जीवी प्रसाईँ र हिरा विश्वकर्माद्धारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको हो ।
छिमेक सम्बन्ध तथा बाह्य अन्तर्राष्ट्रिय मामिला पेचिलो बन्दै गएको सन्दर्भमा ज्ञानेन्द्र शाहका समर्थकको गतिविधिले नेपालको भूराजनीति थप कमजोर बनाएको उनीहरुको आरोप छ ।
नेपालको संविधान (२०७२) संघीय, लोकतान्त्रिक र धर्मनिरपेक्षताको आधारमा निर्मित दस्तावेज भएको भन्दै उनीहरुले त्यसलाई कमजोर बनाउने कुनै पनि प्रयासले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने चेतावनी दिएका छन् ।
उनीहरुका अनुसार भारतले नेपालमा गरेको नाकाबन्दी बिर्सिएर ज्ञानेन्द्र शाहले व्यक्तिगत स्वार्थका लागि पुनः राजगद्दीमा फर्किन भारत सरकारसँगै पहल गरिरहेका छन् ।
विज्ञप्तिमा लेखिएको छ, ‘इतिहास हेर्दा पृथ्वीनारायण शाहले उत्तर दक्षिणका साम्राज्यसँग सतर्क रही नेपालको सार्वभौमिकता बचाउँदै मुलुक ठड्याएका हुन्, जुन आज विश्वकै पुरानो राष्ट्र-राज्यमध्ये पर्दछ । बिडम्बना, उनकै १० औं पुस्ताका ज्ञानेन्द्र व्यक्तिगत स्वार्थका लागि विदेशी पुरातनपन्थीको शरण र आडमा १० वर्षको संविधानलाई लत्याउन खोजिरहेछन् ।’
नागरिक अगुवाहरूले संविधान विरोधी गतिविधिहरूको खण्डन गर्दै अहिलेको संसद राजतन्त्र माग गर्ने स्थान नभएको जनाएका छन् । केही सांसदले सीमा बाहिर गएर राजतन्त्र मागिरहेको भन्दै उनीहरुले त्यसलाई संसदीय दस्तावेजबाट हटाउनुपर्नेमा जोड दिएका छन् ।
