काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन्।
प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै लेखा समितिका पूर्वसभापति समेत रहेका कांग्रेसका सांसद यादवले पुनर्विचार गर्न पत्र पठाउने प्रस्ताव राखेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको छ । तर, कुलमान घिसिङले पदबाट हटेको पत्र पाएका छैनन्।
यो अवस्थामा घिसिङलाई पदबाट हटाउने निर्णयमा पुर्नबिचार गर्न सकिने भन्दै कांग्रेस सांसद यादवले प्रधानमन्त्रीलाई पत्र पठाउने प्रस्ताव गरे।
लेखा समितिको बैठकमा प्रमुख प्रतिपक्षी माओवाद केन्द्र, विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलका सांसदले समेत घिसिङलाई सरकारले हटाएको बारे लेखा समितिको धारणा के हो प्रष्ट गर्नुपर्ने बताए ।
लेखा समितिले घिसिङलाई समेत यसअघि समितिमा बोलाएर छलफल गरेको छ । लेखा समितितिमा घिसिङको विषयसँग सम्बन्धित रहेर विगतमा समेत छलफल भएका छन् ।