काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थाको पुनर्स्थापनालाई अब कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो दाबी गरेका हुन् । उनले शान्तिपूर्ण आन्दोलनमार्फत नवीन समझदारीमा पुग्नुपर्ने आवश्यकता रहेको बताए ।
उनका अनुसार, यही चैत १५ गते काठमाडौंमा विशाल जनप्रदर्शनको आयोजना गरिंदैछ । त्यसपछि चैत २६ गते राप्रपाले वागमती प्रदेश स्तरीय प्रदर्शन गर्नेछ भने बैशाख ७ गतेबाट राजधानी केन्द्रित आन्दोलनको शुरुआत हुनेछ ।
मिश्रले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई स्थायित्व दिन नसकेको र भ्रष्टाचार संस्थागत बन्दै गएकाले अब राजसंस्थाको पुनर्स्थापनाका लागि सबै पक्षले एकजुट हुनुपर्ने बताए ।
उनले भने, 'यो पतित व्यवस्था ढाल्नै पर्छ, नत्र देश र भावी पुस्ताको भविष्य अन्धकार हुनेछ।' राप्रपाले लामो समयदेखि संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको वकालत गर्दै आएको छ।
मिश्रले राजनीतिक दलका शीर्ष नेताहरूलाई समयमै बुद्धि पुर्याउन आग्रह गर्दै भने, 'हामी शान्तिपूर्णरूपमा नवीन समझदारीमा जाऊँ र नेपालको दीर्घकालीन हितलाई मनन गरेर संविधान र व्यवस्थालाई पुनः समीक्षा गरौं।'
यसैबीच, राजसंस्थाको पक्षमा पछिल्लो समय बढ्दै गएको जनसमर्थनलाई मध्यनजर गर्दै राप्रपाले विभिन्न चरणमा आन्दोलनको योजना अघि बढाएको छ।