काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले चौतारीको केन्द्रीय कमिटीलाई बधाई दिएका हुन् ।
नेतृत्व सर्वसम्मत चयन हुनुले सकारात्मक सन्देश प्रवाह भएको बताउँदै अब व्यावसायिक, वैचारिक र साङ्गठनिक काममा सक्रिय हुन नयाँ कमिटीलाई आग्रह गरे ।
अध्यक्ष ओलीले चौतारीको नेतृत्व चयनका सन्दर्भमा आकाङ्क्षीहरूले आफूसँग भेट गरे पनि आफूले कसैलाई कुनै पदमा राख्नु भनेर नतोकेको स्पष्ट पारे । महाधिवेशनले सहमतिका साथ नेतृत्व चयन गरोस् भन्ने कामना मात्रै राखेको स्मरण गराए।
यही चैत १० देखि १२ गतेसम्म विराटनगरमा भएको चौतारीको दशौँ राष्ट्रिय महाधिवेशनबाट गणेश पाण्डेको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको थियो ।