Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

छुटे काभ्रेका जिसस प्रमुख, ६ वटै कसुरमा मिलापत्र

छुटे काभ्रेका जिसस प्रमुख, ६ वटै कसुरमा मिलापत्र

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । काभ्रेपलाञ्चोकका जिल्ला समन्वय समिति (जिसस) प्रमुख दिपककुमार गौतम हिरासतमुक्त भएका छन् । उनीविरुद्ध प्रहरीको रेकर्डमा रहेको ६ वटै कसुरमा मिलापत्र भइसकेको कागजात बुझाएपछि गौतमलाई छाडिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

गौतमका अनुसार, बैंकिङ कसुरको एउटा मुद्दामा पीडित पक्षसँग छलफल गर्न गएका बेला प्रहरीको रेकर्डमा अरु मुद्दा समेत देखिएपछि उनलाई पक्राउ पूर्जी थमाइएको थियो ।

गौतमले भने–‘तर, ती सबै मुद्दामा पहिल्यै मिलापत्र भइसकेको थियो, अदालतबाट कागज नआएका कारण समस्या भएको रहेछ । अब कुनै समस्या छैन ।’

प्रहरीले बुधबारै गौतमलाई जिल्ला अदालत, काठमाडौं लगेर ७ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । तर, उनका पक्षका वकिलहरुले पहिल्यै लेनदेनको विषय टुंगिसकेको जिकिर गरेपछि न्यायाधीशले दुई दिन मात्र म्याद दिएका थिए ।

प्रहरीले ६ वटा मुद्दा रहेको बताएपछि अदालतले अन्य विषयमा जाँच गर्न अनुमति लिएको थियो । तर, दुई पक्षबीच व्यवहार मिलेको भेटिएपछि छाडिएको हो ।

उनले भने–‘काभ्रेमा उजुरी भएको थाहा पाएपछि त्यहाँ पठाएका थियौं, यद्यपि अनौपचारिक रुपमा त्यहाँ मिलापत्र भइसकेको भन्ने सुनेका छौं ।’ काभ्रेमा अहिले औपचारिक रुपमा मिलापत्र भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार, गत वर्ष फागुन ४–७ गतेसम्म चलेको बनेपा बहृत कृषि महोत्सवको बेला भएको खर्चको विवादमा उनीविरुद्ध उजुरी परेको हो ।

जिल्ला समन्वय समितिसहित कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल लगायतको आयोजनामा भएको कार्यक्रममा व्यवस्थापनका लागि दिनुपर्ने भुक्तानीका लागि समय लाग्ने भएपछि उनले व्यक्तिगत चेक काटेर दिएका थिए ।

तर, त्यो भुक्तानी नभएपछि प्रहरीमा उजुरी परेको थियो । गौतमले भने–‘त्यो मेरो व्यक्तिगत काम थिएन, संस्थागत काम थियो, जोखिम लिएर आफ्नो व्यक्तिगत चेक दिएको थिएँ । कृषि महोत्सव, युथ फेस्टिभल लगायतका कार्यक्रमम जाँदा ५० लाख रुपैयाँजति ऋण लागेको थियो ।’

कतिपयको ऋण बाँकी रहेकाले अलिअलि गर्दै घटाइरहेको उनी बताउँछन् । उनी भन्छन्–‘तर, फेरि अर्को कार्यक्रम गर्न लागेका बेला मलाई नियन्त्रणमा लिइयो । जबकि, उजुरी परेजति सबै भुक्तानी भइसकेका विषय थिए ।’

गौतम नेतृत्वको जिससले बिहीबारदेखि धुलिखेलमा युथ फेस्टिबल कार्यक्रम राखेको थियो । ७५ देशका एक हजार युवाको उपस्थितिमा हुन लागेको कार्यक्रमको पूर्वसन्ध्यामा उनी पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077