काठमाडौं । राजतन्त्र पुनःस्थापनाका लागि आन्दोलनमा होमिएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता भएको छ ।
पूर्वाराजालाई भेट्न निर्मल निवास पुगेका प्रसाईको नेतृत्वमो भोली भोलि राजधानी काठमाडौंमा जनप्रदर्शन हुने भएको छ। त्यसकै पूर्वसन्ध्यामा निर्मल निवास पुगेर प्रसाईंले पूर्वराजालाई भेटेका हुन्।
निर्मल निवासमा छिरेर निस्किएपछि प्रसाईंलाई ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले ‘कमान्डर’ तोकेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजगद्धीमा फर्काउने नाममा गठन भएको समितिले शुक्रबार हुन लागेको आन्दोलनका लागि प्रसाईंलाई कमान्डर तोकेको हो ।
चाबहिलको स्मार्ट पार्टी प्यालेसमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले प्रसाईंलाई ‘कमान्डर’ तोकिएको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूको प्रदर्शनका लागि तीनकुनेलाई स्थान तोकेको छ ।
प्रसाईंसँगै बिहीबार संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पनि पूर्वराजालाई भेटेको बताइएको छ। सुवेदीको समेत प्रसाईंको आन्दोलनलाई समर्थन छ।