काठमाडौं । चैत महिना भनेको शैक्षिक सत्र समाप्तीको महिना हो । माध्यमिक शिक्षा परीक्षा (एसईई) ७ चैतदेखि चलिरहेको छ भने अन्य कक्षाको वार्षिक परीक्षा पनि चलिरहेको छ ।
तर, सबै कक्षाको बार्षिक परिक्षा चलिरहेका बेला विभिन्न बहानामा आन्दोलन भइरहेका छन् । आज त समाजवादी मोर्चा र गणतन्त्रवादीको आन्दोलनका कारण काठमाडौंको सवारी अवागमनमा नै समस्या परिरहेको छ । परीक्षार्थीहरुलाई परीक्षास्थलमा पुग्न र आफ्नो घर फर्कन अप्ठेरो परिरहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीको परीक्षाको समयमा भइ रहेको आन्दोलनले गम्भीर बनाएको जनाएको छ भने आन्दोलनले विद्यार्थीको परीक्षामा प्रभावित पर्न सक्ने भन्दै अभिभावक पनि चिन्तित भएका छन् ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा भन्छन्–‘सबै कक्षाको वार्षिक परीक्षाको महिना हो ।शैक्षिक सत्रको अन्तिम महिनामा छौँ । परीक्षा र नतिजा सार्वजनिक गर्ने महिना हो । तर, विभिन्न समूहले आन्दोलन घोषणा गरेका छन् । विद्यार्थीको भविष्य बनाउने समय हो । परीक्षा छुटेमा फेरि विद्यार्थीले जाँच दिन पाउने व्यवस्था छैन । एक वर्ष लस हुन्छ । परीक्षाको समयमा सबै जिम्मेवार र सजग भएर प्रस्तुत हुनुहुन्छ भन्ने अपेक्षा छ ।’
मन्त्रालयले विद्यार्थीको परीक्षा प्रभावित हुनेगरी कुनै गतिविधि नहुने अपेक्षा लिएको छ । विद्यालय तहमा करिब ७० लाख बालबालिका अध्ययनरत छन् । मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा आज गणतन्त्रवादी र राजतन्त्रवादीको छुट्टाछुट्टै प्रदर्शन छ । यद्यपि, एसईईका कारण १२ बजेपछि मात्र प्रदर्शन गर्ने निर्णय गरेको छ ।
आन्दोलनका कारण केही विद्यालय बन्द समेत गरिएको छ । आन्दोलन हुने क्षेत्रका केही निजी विद्यालयले सूचना निकालेर बन्द हुने जनाएका छन् ।
काठमाडौंका प्रिमियर, पाठशाला, मिल्सबेरी, ह्वाइटहाउस लगायतका स्कुलले दिउँसोको पठनपाठन बन्द हुने सूचना अभिभावकसमक्ष पठाएका छन् । प्रदर्शनका कारण सवारी आवागमन र सुरक्षामा समेत असर पर्नसक्ने भन्दै केही विद्यालयहरूले बन्द गर्ने निर्णय गरेका हुन् ।
तर, प्याब्सन र एनप्याब्सनले भने आधिकारिक रूपमा शैक्षिक संस्था बन्दको कुनै निर्णय नभएको जनाएका छन् ।
सरकारले परीक्षाको लागि सुरक्षा व्यवस्था गरेको जनाएको छ । शिक्षा मन्त्री विद्या भट्टराईले गृह मन्त्रालय र शिक्षा मन्त्रालयले समन्वय गरेर सुरक्षाको व्यवस्था मिलाएको बताएकी छिन् ।
उनले भनिन्–‘गृहसँग कुरा गरेका छौँ । सुरक्षाको वयवस्था मिलाएको छ । विद्यार्थीले ढुक्कसँग परीक्षा दिने वातावरण सबैले बनाउनु पर्छ ।’
यसैबीच विद्यार्थीहरुरुको समस्यालाई बुझेर काठमाडौं महानगरपालिकाले भने एसईई दिन जाँदा परीक्षा केन्द्रमा पुग्न र परीक्षा पछि घर फर्कदा समस्या भए खबर गर्न आग्रह गरेको छ ।
महानगरभित्र एसइई दिने विद्यार्थीहरूलाई फर्कनका लागि सवारी साधन उपलब्ध नभए महानगरले सहयोग गर्ने भएको हो। शुक्रबार काठमाडौंका दुई ठाउँमा छुट्टाछुट्टै समूहले प्रदर्शन गर्दैछन्। त्यसले बिहान ११ बजेदेखि सवारी आवागमन प्रभावित हुने भएपछि महानगरले एसइईका विद्यार्थीलाई गन्तव्यमा पुर्याउन सहयोग गर्ने भएको हो।
महानगरले सवारी साधन उपलब्ध नभएर गन्तव्यवमा पुग्न नसक्ने परीक्षार्थीहरूले सम्पर्क गर्न भनेर महानगर प्रहरी बलका चार जनालाई सम्पर्क व्यक्ति तोकेको छ।
बानेश्वर क्षेत्रका विद्यार्थीले नगरप्रहरी उपरीक्षक कुमार अर्याललाई ९८५१०६८०९६ मा सम्पर्क गर्न सक्नेछन्।
त्यस्तै रत्नपार्क क्षेत्रका विद्यार्थीहरूले नगरप्रहरी उपरीक्षक मनोज प्रसाद लामिछानेलाई ९८५१०९३१७६ मा, नयाँ बसपार्क क्षेत्रकाले नगरप्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टलाई ९८५१२३३६३३ नम्बरमा र टेकु क्षेत्रमा नगरप्रहरी निरीक्षक प्रकाश पण्डितलाई ९८५१०५६३४६ नम्बरमा सम्पर्क गर्न सक्ने महानगर प्रहरी बलले जनाएको छ।
त्यस्तै हटलाइन सेवा ०१५९०१७६४ र ९८५१३५६५०९ नम्बरमा पनि त्यस्ता विद्यार्थीहरूले सम्पर्क गर्न सक्नेछन्। दुई स्थानमा हुने प्रदर्शनका लागि शुक्रबार बिहानैदेखि काठमाडौंका विभिन्न सडकमा ट्राफिक डाइभर्सन गरिएका छन्।
सुन्धारा, न्युरोड , रत्नपार्क हुँदै टुँडिखेल घुम्ने सडकमा बिहानैदेखि सवारी आवागमन बन्द गरिएका छन्।
भृकुटीमण्डपमा समाजवादी मोर्चाले गर्न लागेको सभाका लागि दिउँसो ललितपुरको कुपन्डोल र बबरमहलबाट निस्कने र्याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा हुँदै रत्नपार्क हुँदै प्रदर्शनीमार्ग पुग्नेछ।
त्यस्तै कलंकी, सोह्रखुट्टे, मैतीदेवीबाट पनि र्याली निस्कने तय भएका कारण ती क्षेत्रहरूमा पनि सवारी अवरूद्ध हुने आकलन छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राजावादी समूहले तीनकुनेमा गर्न लागेको सभाका लागि पनि सिनामंगल, बानेश्वर सहित भक्तपुरबाट पनि र्याली निकालिने भएकाले कोटेश्व–बानेश्वर सडकमा पनि सवारी आवागमन प्रभावित हुने देखिएको छ।