काठमाडौं । शुक्रबार तीनकुनेमा राजावादीले गरेको आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई सम्झँदै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ भावुक बनेका छन् ।
नियमित श्रमदान कार्यक्रम अन्तर्गत सर्दुखोलामा स्वयसेवकहरुलाई सम्बोधन गर्ने क्रममा मेयर राई रोएका हुन् । उनले रुँदै भने–‘हिजो मात्रै एउटा युवा शहीद बनेर गयो । हामी किन शहीद बन्नुपर्यो भन्दा हामीले देशलाई बाँझो बनायौं । आज देशमा केही छैन । आज ठूलो भिड विदेश गइरहेका छन् । हामी विदेशमा पनि मरिरहेका छौं । हामीले यो कुरा बुझ्छौं कि बुझ्दैनौं रु अब यो देश बनाउन पसिना बगाउनुपर्छ, एक नेपालीले अर्को नेपालीले रगत बगाएर देश बन्दैन । को ठूलो नेता बन्ने कुरा छाडिदिनुस् ।’
कार्यक्रममा राईले श्रमसम्बन्धी गीत गाइसकेपछि भावुक बनेका थिए । ऐनामा हेर्दा जो देखिन्छ, उसैले देश बनाउने भन्दै उनी हिजोको तीनकुनेको घटना सम्झेर भावुक बनेका थिए ।
हिजो भएको आन्दोलनमा आगजनी, तोडफोड, लुटपाटको साथै एक पत्रकार सहित दुईजनाको मृत्यु भएको थियो ।