काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता राजन दाहालले राप्रपामाथि तत्काल प्रतिबन्ध लगाउन माग गरेका छन्।
आइतबार सामाजिक सञ्जालमा लेख्दै दाहालले संविधानभन्दा माथि कोही छैन भन्दै तत्काल राप्रपालाई प्रतिबन्ध लगाउन र कानुनको दायरामा ल्याउन माग गरेका हुन् ।
धवल धम्शेर जबरा र ज्ञानबहादुर शाही अराजक लुटेरा जत्थाको नेतृत्व गरेर हिँडेको देख्न सकिने भएकाले राप्रपाले उनीहरूलाई पार्टीबाट निस्कासित गर्नुपर्ने उनले बताए।
'राप्रपाले पनि कि धवल धम्शेर जबरा र ज्ञानबहादुर शाही जो यो अराजक लुटेरा जत्थाको नेतृत्व गरेर हिँडेको देख्न सकिन्छ। उनीहरूलाई पार्टीबाट निस्कासित गरोस्। हैन भने राप्रपा पनि संस्थागत हिसाबले हत्या, हिंसा र लुटपाटमा लागेको पुष्टि हुन आउँछ,' उनले लेखेका छन्, 'तत्काल राप्रपालाई पनि प्रतिबन्ध लगाइयोस् र कानुनको दायरामारसंविधानको दायरामा ल्याइयोस्। संविधानभन्दा माथि कोही पनि छैन। हेक्का रहोस्।'
यस्तै सांसद दाहालले तिनकुने क्षेत्रको क्रुर, हत्या, हिंसा, लुटपाट र आततायी गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको दाबी गर्दै ज्ञानेन्द्रलाई पनि तत्काल गिरफ्तार गर्न समेत माग गरे ।