काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण कार्य रोक्न अल्पकालिन आदेश जारी गरेको छ । याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो ।
सर्वोच्चले केबलकार निर्माणका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चको अन्तरिम आदेशमा मुद्दाको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न भनिएको छ ।
गत बुधबार न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न २६ चैतमा दुवै पक्षलाई झिकाएको छ ।
गत चैत १३ गतेको उक्त आदेश आइतबार सार्वजनिक भएको छ । सार्वजनिक आदेशअनुसार विपक्षीहरूमध्ये केहीलाई महान्यायाधिवक्ता, मुख्य न्यायधिवक्ताको कार्यालय र आफैँ वा प्रतिनिधिमार्फत १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश गरिएको छ ।