काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्षका डा. बाबुराम भट्टराईले राजावादीहरूले सर्वसाधारण जनतालाई राजतन्त्र पुनर्स्थापनको विषाक्त ललीपप बाँड्ने कुचेष्टा गरिरहेको बताएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । उनले राजावादीहरूले मरिसकेको राजतन्त्रको भूत जगाएर जनतालाई पुनर्स्थापनको विषाक्त ललीपप बाँड्ने कुचेष्टा गरिरहेको बताए ।
सामाजिक सञ्जालमा लेख्दै उनले भने, 'अहिले देशमा पुनः एक पटक ऐतिहासिक रूपले मरिसकेको राजतन्त्रको भूत जगाएर आफ्नो सामरिक स्वार्थ पूरा गर्ने बाह्य शक्ति र संघीय लोकतान्त्रिक गणतन्त्रबाट आफ्नो लूटको स्वर्ग गुमेकोमा मुर्छित आन्तरिक प्रतिगामी शक्तिहरूले कुशासन र अल्पविकासको निरन्तरताबाट विरक्तिएका सर्वसाधारण जनतालाई राजतन्त्र पुनर्स्थापनको विषाक्त ललीपप बाँड्ने कुचेष्टा गरिरहेछन्।'
डा. भट्टराईले गत चैत १५ गते काठमाडौँमा प्रदर्शन गरिएको आपराधिक प्रतिक्रान्तिकारी रिहर्सल त्यसैको एउटा कडी भएको जिकिर गरे ।