अछाम । नेकपा एमाले अछामको बहुप्रतीक्षित ९ औं जिल्ला अधिवेशन वैशाख १३ देखि १५ गतेसम्म सदरमुकाम मंगलसेनमा हुने भएको छ ।
सुदूरपश्चिम प्रदेशका अन्य आठ जिल्लामा अधिवेशन सम्पन्न भइसके पनि अछाममा केन्द्रमा देखिएको विवादका कारण अधिवेशन समयमै हुन सकेको थिएन । पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावलमाथि भएको कारबाहीपछि अन्ततः अछाममा अधिवेशनको बाटो खुलेको हो ।
अधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व चयनको बहस तीव्र बनेको छ । हालसम्म जिल्ला अध्यक्ष पदका लागि सात नेताहरूको नाम चर्चामा आएको छ भने आकांक्षी संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
प्रतिस्पर्धी नेताहरूमा विद्यार्थी राजनीतिबाट हुर्किएका युवादेखि जिल्लामा लामो समयदेखि सक्रिय नेतृत्वदायी अनुहारहरू छन् ।
नेतृत्वको दौडमा को–को ?
वर्तमान अध्यक्ष चन्द्र बहादुर वोहराले पहिलो कार्यकालमा विषम परिस्थितिमा नेतृत्व सम्हालेको भन्दै पुनः अध्यक्ष बन्ने दबाव कार्यकर्ताबाट आएको बताउँदै आएका छन् ।
संगठनलाई अझ मजबुत बनाउने जिम्मेवारी लिने समय आएको दाबी गर्छन् । यदि सर्वसम्मति नबने चुनावी प्रतिस्पर्धामा जान तयार रहेको उनले स्पष्ट पारे । अब पनि उनले नै एमाले अछामको नेतृत्व गर्ने सम्भावना बढी रहेको चर्चा छ ।
पार्टीका जिल्ला सचिव भीम रावल (कालोटोपी) पनि अध्यक्ष पदका लागि तयारीमा छन् । युवामाझ लोकप्रिय रावल सबैलाई समेटेर अघि बढ्ने क्षमताका कारण बलियो दाबेदार मानिन्छन् ।
नेतृत्व हस्तान्तरणमार्फत पार्टीलाई नयाँ ऊर्जा दिने बेला आएको उनी बताउँदै आएका छन् । युवा पुस्ताको नेतृत्व स्थापित गर्न, आन्तरिक एकता बलियो पार्न र रोजगारी तथा उद्यमशिलताको अवसर सिर्जना गर्ने उनको प्रतिबद्धता छ । तर पार्टीभित्र उनलाई कारबाहीमा परेका डा. भीम रावल निकटका व्यक्ति भनेर चिन्ने गरिन्छ ।
यस्तै विद्यार्थी राजनीतिबाट आएका डिबी साउद लोकप्रिय उम्मेदवारका रूपमा अगाडि आएका छन् । पार्टीका विभिन्न तहमा जिम्मेवारी सम्हालिसकेका साउदलाई केन्द्र तथा प्रदेशस्तरीय नेताहरूको समेत समर्थन रहेको बताइन्छ । आफूलाई सर्वसम्मत अध्यक्ष बन्नेमा पूर्ण विश्वास रहेको साउदको दाबी छ।
साउदले अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष, पार्टीका विभिन्न कमिटीमा अनुभव, र जनसमस्यामा निरन्तर सक्रियता आधारमा आफू चुनावमा पनि सहजै विजयी हुने विश्वास व्यक्त गरेका छन् ।
यसैगरी पूर्व प्रदेश कमिटी सदस्य शिवप्रसाद उपाध्यायको सम्भावना पनि बलियो रहेको चर्चा छ । उनले अध्यक्षका लागि लबिङ गरिरहेको स्रोत बताउँछ ।
साथै नेता हिरण्ड भट्टराईको नाम पनि अध्यक्षको दौडमा चर्चामा रहेको छ । यद्यपि उनको औपचारिक धारणा भने सार्वजनिक भइसकेको छैन । उनी नेकपा एकीकृत समाजवादीबाट फेरि एमालेमा फर्किका थिए ।
यस्तै, अन्य अध्यक्ष पदका आकांक्षीहरूमा बमबहादुर विसी र जिल्ला कमिटी सदस्य तिलक कुँवर पनि रहेका छन् । यी नेताहरूले आन्तरिक छलफल र संगठन निर्माणमा आफ्नो भूमिका प्रस्तुत गर्दै नेतृत्वका लागि लबिङ गरिरहेका छन् ।
नेकपा एमाले अछामले अधिवेशनको सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ। हालसम्म चार सयभन्दा बढी प्रतिनिधिहरू चयन भइसकेका छन्, जसले नयाँ नेतृत्व चयनमा निर्णायक भूमिका खेल्नेछन् ।
पार्टीको स्थानीय तहदेखि केन्द्रसम्मको असहज अवस्था र विभाजनपछि पहिलोपटक हुन लागेको अधिवेशनले संगठनको पुनर्संरचना र भविष्य निर्धारणमा महत्वपूर्ण मोड ल्याउने विश्वास गरिएको छ ।
अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयनका प्रयास भइरहेका छन् । यदि त्यसो हुन नसकेमा चुनावी प्रतिस्पर्धा निश्चित देखिन्छ ।