Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

एमालेको ‘युथ सेलिब्रेसन’ : सुहाङदेखि सुनितासम्म वक्ता, चर्चित कलाकारदेखि ब्याण्डसम्मको प्रस्तुती

एमालेको ‘युथ सेलिब्रेसन’ : सुहाङदेखि सुनितासम्म वक्ता, चर्चित कलाकारदेखि ब्याण्डसम्मको प्रस्तुती

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं । सत्ता हाँकिरहेको दल नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा ‘युथ सेलिब्रेसन’ कार्यक्रम गरेको छ। एमालले जनताले जितेको दिन भन्दै काठमाडौंको भृकुटीमण्डपमा ‘युथ सेलिब्रेसन’ गरेको हो।

जनआन्दोलनको बलमा निरङ्कुश राजतन्त्रको अन्त्य भई जनताले जितेको दिनको रूपमा एमालेले यो उत्सव मनाएको हो । आजको पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता खुलापन र गणतन्त्रको महत्व बताउन अवसरको रूपमा सेलिब्रेसनस्वरूप कार्यक्रम गरिएको एमालेले जनाएको छ ।

कार्यक्रम स्थलमा कफीसप, फुडसप तथा युवाले उत्पादन गरेका सामानको स्टल राखिएको छ । यस कार्यक्रममा बोल्ने वक्ता पनि एमालेले युवाहरूलाई नै अघि सारेको छ।

कार्यक्रममा बोल्नको लागि १६ देखि २४, २५ देखि ३०, ३० देखि ३५ र ३५ देखि ४० सम्म उमेर समूहको वक्ता छनोट गरिएको छ । समावेशी वक्ताहरूमा इलाम २ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल, कपिलवस्तु शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी, बागलुङ क्याम्पसको स्ववियू सभापति याश्मिन शेख, पीएन क्याम्पसको सभापति विष्णु पोखरेल, युवा डाक्टर आनन्द सिंह, दलित युवा नेपाल ल क्याम्पसका प्रकाश सुनार, कोटेश्वर क्याम्पसको स्ववियू सभापति उम्मेदवार शर्मिला भण्डारीलगायत छन् ।

युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेका अनुसार युवालाई आकर्षित गर्न विभिन्न कलाकार तथा सांगीतिक ब्यान्डहरूलाई उतारिएको छ ।

शान्ता रानी परियार, एलिना चौहान, पूर्ण राई एण्ड दाजुभाइहरू, वाङदेन शेर्पा एन्ड द काउब्वाइज, द एलिमेन्ट्स, सुशान्त एन्ड रागा समेतले प्रस्तुति दिने कार्यक्रममा छ।

‘समाजमा व्याप्त नकारात्मकता चिर्न र केही भएको छैन भन्ने भाष्य चिर्न हामीले युथ सेलिब्रेसन आयोजना गरेका हौं। वक्तादेखि प्रस्तुतिसम्म युवाहरूकै हुनेछ,’ थेवेले भने–‘वैशाख ११ जनताले जितेको दिन हो, अब देश हामीले नै बनाउनेछौं भन्ने सन्देश प्रवाह गर्न पनि युथ सेलिब्रेसन जरूरी ठान्यौं।’

एमालेले वडा, पालिका कमिटीमा ३३ प्रतिशत युवा अनिवार्य गरेको छ। वैशाख ११ गते कमिटीमा भएका ती युवाहरू पनि कार्यक्रममा उपस्थित छन्।

त्यस्तै जिल्ला कमिटीमा १५ र प्रदेश कमिटीमा १० प्रतिशत युवा निर्वाचित भएका छन्। जिल्ला र प्रदेश कमिटीमा रहेका सबै युवालाई अनिवार्य आउन पार्टी महासचिव शंकर पोखरेलले निर्देशन पठाएका थिए।

स्थानीय जनप्रतिनिधिहरू मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष सबैलाई वैशाख ११ गते काठमाडौं आउन भनिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077