काठमाडौं । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच समिकरण नमिलेको चर्चा भइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थाइल्यान्ड प्रस्थानअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेको खुलेको छ ।
वैशाख ७ गते उपचारका लागि भन्दै थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्नुअघि देउवा आफूलाई फोन गरेको प्रचण्डले नै जानकारी गराएका हुन् ।
देउवाको भ्रमणलाई सत्ता परिवर्तनसँग समेत जोडेर टिकाटिप्पणी भइरहेका बेला उनले प्रचण्डलाई फोन गरेको खुलेको हो । सिंहदबारमा बिहीबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रचण्डले देउवाले आफूलाई फोन गरेको ब्रिफिङ गरेका हुन् ।
प्रचण्डले बैठकमा भनेका कुरा उद्धृत गर्दै माओवादीका एक नेताले भने–‘थाइल्यान्ड जानुअघि उहाँले मलाई फोन गर्नुभएको थियो । सो क्रममा शुभकामना आदान प्रदान भएको थियो । फर्किएपछि फेरि भेट्न कुरा भएको छ ।’
सो क्रममा प्रचण्डले अब केपी ओली नेतृत्वको सरकार धेरै समय नटिक्ने विश्लेषणसहितको ब्रिफिङ गरेको उनको भनाइ थियो । ती सांसदका अनुसार नयाँ समीकरणका विषयमा देउवा थाइल्यान्डबाट फर्किएपछि उनीसँग छलफल गर्ने पनि प्रचण्डले बताएका थिए ।
त्यसो त प्रधानमन्त्री ओलीप्रति नेपाली कांग्रेसको अविश्वास बढ्दै गएको छ । प्रधानमन्त्रीका पछिल्ला कार्यशैलीलाई लिएर कांग्रेस थप चिढिएको छ ।
प्रधानमन्त्रीकै कारण गभर्नर नियुक्ति हुन नसकेको र शिक्षक आन्दोलन लम्बिएको बुझाइ कांग्रेसको छ । यही बीचमा प्रधानमन्त्री ओलीले बुधबार ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई हटाएपछि कांग्रेस झन् चिढिएको छ ।
प्रधानमन्त्रीको शैलीप्रति कांग्रेस असन्तुष्ट रहेको उपसभापति पूर्णबहादुर खड्काको मंगलबारको अभिव्यक्तिले पनि संकेत गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा बैंककबाट फर्किएपछि अर्को तरिकाले अघि बढ्ने खड्काले बताए । उनले भने–‘सभापति फर्किएपछि हामी अर्को तरिकाले अघि बढ्नेछौं ।’
कांग्रेस महामन्त्री गगन थापा पनि शिक्षकहरूलाई घर फिर्ता पठाउने जिम्मेवारी प्रधानमन्त्री ओलीले बोध गर्नुपर्ने बताउँछन् । संसद्को बर्खे अधिवेशनको सुरुमै शिक्षा विधेयक पारित गर्नेगरी समझदारी गर्न सकिने विकल्प पनि थापाले अघि सारेका छन् । तर, ओलीले त्यो चाहेका छैनन् ।
यस्तो बेला देउवाको भ्रमणलाई कतिपयले सरकार परिवर्तन हुने कडीका रूपमा अर्थ्याउन थालेका छन् । हुन त पूर्वप्रधानमन्त्री देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक गएका हुन् । २०७० देखि आफ्नो आँखा र पेटको उपचार सिंगापुरमा गराउँदै आएका उनी ‘फलोअप’का लागि भने बैंकक गएका हुन् । यसअघि २०८० जेठ ३० गते उनी फलोअपका लागि सिंगापुर नै गएका थिए ।
झन्डै दुई वर्षपछि देउवा फलोअपकै लागि सिंगापुर नभएर बैंकक जानु आफैँमा अनौठो भएको छ । सभापति देउवाका सचिवालयका सदस्यहरूले भने सिंगापुरमा उपचार गरेका डाक्टर यतिखेर बैंककमा भएको कारण फलोअपका लागि बैंकक जानु परेको बताउँदै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नै यसबारे प्रतिक्रिया दिएपछि देउवाको बैंकक भ्रमणबारे अझ बढी चासो बढाएको हो । प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा उपचारका लागि बैंकक जानुलाई पनि सत्तासँग जोडेर हेरिएकोमा असन्तुष्टि जनाए । उनले सोमवार एउटा कार्यक्रममा भनेका थिए–‘कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजियो ।’
प्रधानमन्त्री ओलीले अबको १५ महिनापछि आफूले कांग्रेस सभापति देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने दोहोर्याएका थिए ।
कांग्रेसका केही नेताहरु वर्तमान सरकारप्रति असन्तुष्ट देखिएका बेला सरकार परिवर्तनको अड्कल काढ्न भने त्यति गाह्रो छैन । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, इतर पक्षका नेता डा. शेखर कोइरालालगायतले सार्वजनिक रूपमै सरकारको आलोचना गरेका छन् ।