काठमाडौं। नेकपा एमालेकी युवा नेतृ एवं काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले आफू एमालेमा लाग्दा भड्काउने प्रयास भएको बताएकी छन् ।
आज काठमाडौंको भृकुटी मण्डपमा आयोजित ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रममा बोल्दै डङ्गोलले भनिन्–‘उमेरले मात्र युवा हुँदोरहेनछ । हामी निरन्तर अध्ययनशील हुन्छौ र सत्यका पछि उभिइरहनेछौ । जब म नेकपा एमालेमा आबद्ध हुने निर्णय गरेँ धेरैले मलाई निरुत्साहित पनि गर्नुभयो र यो पार्टीमा युवाको ठाउँ छैन । जीवन बिगार्यौ भन्नु भयो ।’
उनले बेकारमा पार्टीमा गएर जीवन बिगारेको भन्दै भ्रम छर्दै भड्काउने प्रयास भएको बताइन् । तर उनीहरुलाई आफूले इतिहास बुझेको र अध्ययन गरेको भन्दै एमालेले सरकारमा गएका बेला राष्ट्र विकास गरेको भन्दै आफू एमालेमै लाग्ने निर्णय गरेको बताइन् ।
कार्यक्रममा उनले मेयर बालेन शाहप्रति लक्षित गर्दै एमालेले कसैको घर जलाउन नसिकाउने बताइन् । उनले भनिन्–‘एमालेले कसैको घर जलाउन सिकाउँदैन । लुटपाट गर्न युवा प्रयोग गर्दैन र राष्ट्रको काम गर्न प्रेरित गरिरहन्छ । सोसल मिडियामा भाँडभैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन ।’