काठमाडौं । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तलाई बधाई दिएकी छन् । उनले सामााजिक सञ्जालमार्फत पन्तलाई कार्यकाल सफलताको शुभकामना दिएकी हुन् ।
उनले कास्की २ का मतदाता र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार प्रकट समेत गरिन् । साथै उनले पार्टीका नेता र सिंगो पार्टी पंक्तिप्रति कृतज्ञता ज्ञापन गरिन् ।
“करिब नौ महिना, यसै मन्त्रालयको जिम्मेवारी दिएर शिक्षा क्षेत्रमा केही सुधार गर्ने प्रयासमा लाग्नका लागि मलाई अभिप्रेरित गर्नुहुने सम्पूर्ण न्यायप्रेमी समुदाय, कास्की २ का सम्पूर्ण आदरणीय मलाई निर्वाचित गर्नुहुने मतदाता र आमशुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्दछु,” उनले लेखेकी छन्, “मलाइ विश्वास गरेर आफ्नो नेतृत्वमा बनेको सरकारमा संगै काम गर्ने अवसर दिनु भएकोमा सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वहाँको नेतृत्वको मन्त्रिपरिषद्प्रति आभारी छु । यस अवसरका लागि मलाई छनोट गर्नुभएकोमा सम्पूर्ण पार्टीका नेता र सिंगो पार्टी पंक्तिप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।”
उनले अबको यात्रा सार्वजनिक शिक्षाको सबलीकरण, अनुसन्धान, विज्ञान तथा प्रविधिमा आधारित सबैका लागि गुणस्तरीय शिक्षामा रहने समेत बताएकी थिइन् ।