काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट सशक्त ढंगले अगाडि बढ्ने बताएका छन् ।
काठमाडौंको शान्तिवाटीकामा आज आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
उनले भने ,‘आज यो मञ्चबाट सरकारलाई प्रष्ट पार्न चाहन्छु, तपाईंहरुको योजना, तपाईंहरुको षडयन्त्र जनताले बुझिसकेका छन् ।तपाईंहरुले बुझिराख्दा हुन्छ हिन्दु राष्ट्र र पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट सशक्त ढंगले अगाडि बढ्ने छ ।’
उनले चैत १५ गते राजावादीहरुले तीनकुनेमा आयोजना गरेको हिंसात्मक प्रदर्शनमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायत निर्दोष भएको जिकिर गर्दै रिहा गर्न माग गरे ।
तीनकुनेको प्रदर्शनलाई हिंसात्मक बनाउने काम स्वयं सरकारबाट भएको आरोप उनले लगाए । सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेका नेताहरु सहभागी थिए ।
पूर्वमन्त्री समेत रहेका थापाले भने ,‘नयाँ सन्देश दिन र नयाँ संकल्प गर्न जनप्रदर्शन भएको हो । यो जनप्रदर्शनको माध्यमबाट केही सन्देश दिन, केही संकल्प गर्न र केही उदघोष गर्न भेला भएका छौं ।’
कमल थापाले आयोजना गरेको कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष, विक्रम पाण्डे र महामन्त्री धवल शमशेर जबरा,कुन्ती शाही सहभागी भएका थिए ।