काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तको प्रशंसा गर्दै आलोचकहरूलाई 'घाँस'को संज्ञा दिएका छन् । शिक्षामन्त्री नियुक्त भएपछि आलोचकहरूले पन्तको शैक्षिक योग्यतामाथि प्रश्न उठाएका थिए ।
त्यसप्रति लक्षित हुँदै थापाले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आलोचकहरूलाई घाँस भनेका हुन् । पन्तको शैक्षिक उपाधि (डिग्री) को कुरा उठाउनेहरू मध्यरातियता मौन र नाजवाफ नै हुन पुगेको उनले बताए ।
'घाँसहरूले हुर्मत लिन खोजेका थिए, उहाँ (शिक्षामन्त्री) ले समाधान दिएर तिनलाई मुखतोड जवाफ दिनुभयो,' थापाले भनेका छन्।
फेसबूकमा लेखेका उनले अगाडि भनेका छन्, 'मन्त्री रघुजी पन्तको शैक्षिक उपाधि (डिग्री) को कुरा उठाउनेहरू मध्यरातियता मौन र नाजवाफ नै हुन पुगेका देखिन्छन्। काम गर्ने भिजन, नेतृत्व क्षमता, अनुभव र तरिकाले हो ।'
बुधबार राति आन्दोलित शिक्षकहरुसँग शिक्षामन्त्रीले ९ बुँदे सहमति गरेका थिए । सोसँगै शिक्षकहरुको सडक आन्दोलन फिर्ता भएको छ । शुक्रबारबाट विद्यालयहरु नियमित रुपमा खुल्ने भएका छन् ।