काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सरकारमा जाने कुनै रुची नभएको बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले एकचोटी फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्ने बताएका हुन् ।
उनले भने ,‘तपाईंहरू अब राम्रो तयारीमा जानुस् । छिट्टै हामी ठूलै आन्दोलनमा जानुपर्ने छ । हामी यथास्थितिवादी पार्टीसँग मिलेर सरकारमा जाने कुनै रुचि छैन । जनतासँगै ठिक छौं । हाम्रै वर्गसँग ठिक छौं ।’
आन्दोलनद्वारा तमाम समस्याको समाधान गर्न आफूहरू तयार अवस्थामा बस्नुपर्ने उनले बताए ।
प्रचण्डले भने ,‘एकचोटी फेरि हामीलाई हिजो जनक्रान्तिमा साथ दिने, हिजोको पीएलएका सबै कमाण्डर र योद्धा साथिसँग, घाइते अपांगसँग, जेलनेल यातना भोगेकासँग, ०६४ मा हामीलाई माया गरेर मतदान गर्ने जनतासँग एकचोटी फेरि नयाँ क्रान्तिको तयारी हामीले गर्नैपर्छ ।’