काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले शिक्षा विधेयक संसद्का दुवै सदनबाट छिटो प्रक्रिया अपनाइ पारित गर्न सकिने बताएकी छन् ।
लियो क्लब ‘डिस्ट्रिक्ट ३२५ई’ को तेस्रो जिल्ला परिषद् बैठक र तेस्रो वार्षिक जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उपाध्यक्ष घिमिरले यस्तो बताएकी हुन् ।
उनले सरकारसँगको सहमतिअनुसार नै छिटो प्रक्रियाबाट विधेयक सदनबाट पारित गर्न सकिने बताइन् ।
‘एक महिनादेखि आन्दोलनरत शिक्षक र सरकारबीच बुधबार राति प्रतिनिधिसभाबाट आगामी असार १५ मा शिक्षा विधेयक पारित गर्ने सहमति भएको छ,’ उपाध्यक्ष घिमिरले भनिन्, ‘प्रतिनिधि सभाबाट पारित भएको विधेयकलाई दलहरूको सहमतिमा राष्ट्रिय सभाले छिटो प्रक्रियाबाट पारित गर्न सकिन्छ।’
उनले महत्त्वपूर्ण विधेयक पारित भएर कानुन बन्न नसक्दा सङ्घीय व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको उल्लेख पनि गरिन् ।