काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट आइटी व्यापारी अकबर हुसेन भ्रष्टाचारी ठहर भएका छन्। म्याक्स इन्टरनेशनलका सिइओ अकबर हुसेनलाई बिशेष अदालतले आइतबार दोषी ठहर गरी डेढ वर्ष कैद र १३ करोड ५८ लाख ५२ हजार जरिवाना र बिगोको सजाय सुनाएको छ ।
सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदमा ४१ करोड भ्रष्टाचार गरेको आरोपमा अख्तियारले गत ३० वैशाखमा दायर गरेको मुद्दामा उनी दोषी ठहर भएका छन् । । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसँग मिलेर उनले त्यसमा भ्रष्टाचार गरेका थिए ।
हुसेन प्रधानमन्त्री ओलीका आइटी सल्लाहकार असगर अलीका पार्टनर हुन् । असगरले आफ्नै कम्पनीबाट काम गर्न नपाउने भएकाले हुसेनको कम्पनीमार्फत गर्दै आएका छन्। सरकारका ठूला आइटी ठेक्कामा उनीहरुको कब्जा जस्तै छ । त्यसरी कमाएको पैसाबाट हुसेनले पुतलीसडकमा आइटी प्लाजा नै बनाएका छन् ।
अख्तियारले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ र वन तथा वातावरण मन्त्रालयका तत्कालीन सिडिई ९मेकानिकल० नवीनकुमार पोखरेल, केन्द्रकै तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा र शाखा अधिकृत हरिबल्लभ घिमिरेलाई पनि प्रतिवादी बनाएकोमा उनीहरुले भने सफाइ पाएका छन् ।
विकल यसअघि नै तीन मुद्दामा दोषी ठहर भइ हाल कारागारमा छन्।