काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान लिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रश्न उठाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले मंगलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर कतै राजनीतिक प्रतिशोधका आधारमा भइरहेको त छैन भनेर प्रश्न गरेका हुन् ।
उनले भने, ‘हालसालै भइराखेको राजनीतिक प्रतिशोधको केही घटनाहरूमा पार्टीको तर्फबाट ध्यानाकर्षण भएको र हाम्रो सरोकार रहेको कुरा राख्न चाहन्छौं ।’
राजनीतिक प्रतिसोधप्रति सँधै चुप लाग्न सकिने अवस्था नरहन सक्ने बताउँदै उनले भने, ‘हाम्रो पार्टी सभापतिप्रति भयो, हालसालै रेशम चौधरीप्रति भयो, माधवकुमार नेपाल ज्युको पनि बयान लिंदैछ भन्ने सुन्दैछौं । अब के सिके राउतप्रति आक्रमण हुन्छ कि ?
यी सबै विषयलाई आफ्नो पार्टीले एउटा राजनीतिक प्रतिसोधको क्रमको रुपमा हेरिराखेको रास्वपा सांसद झाले बताए ।
पतञ्जलि योगपीठको जग्गा अनियमिततामाथि अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग सोमबार बयान लिएको थियो ।