काठमाडौं । ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव– २०८२’ आजदेखि खोटाङमा सुरु भएको छ ।
नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको महोत्सव आगामी जेठ ४ गतेसम्म सञ्चालन हुनेछ ।
खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, विभिन्न विद्याका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका खुला महिला, पुरूष हाफ म्याराथनसहित दौड, खुला महिला, पुरूष टेबलटेनिस, खुला पुरूष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए ।
महोत्सवको पहिलो दिन आज खुला महिला, पुरूष हाफ म्याराथनसहित एथलेटिक्स विद्याका सबै प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।
खुला महिला, पुरूष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगितामा नेपाली सेना, जनपद र सशस्त्र प्रहरीका तीन वटै क्लब, विभिन्न जिल्लाका धावक गरी ३५ जनाले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
म्याराथनमा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौ, छैटौँ र सातौँ हुनेले क्रमशः ७७ हजार सात सय ७७, ५५ हजार पाँच सय ५५, २५ हजार पाँच सय ५५, १५ हजार पाँच सय ५५, ११ हजार एक सय ११, सात हजार सात सय ७७ र पाँच हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।