धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका नयाँ प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले काम गरेर आफ्नो उपस्थिति पुष्टि गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
जिल्लाको नेतृत्व सम्हालेपछि पहिलो पटक स्थानीय पत्रकारहरूसँग भेटघाट गर्दै एसपी राणाले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले प्रहरीको काममा पारदर्शिता, कर्तव्यनिष्ठता र जनमुखी सेवाको आधारमा परिवर्तन ल्याउने बताए ।
'सुरुमै के गर्छु भनेर बाचा गर्न चाहन्न,' उनले भने, 'तर केही राम्रो काम गरेर देखाउने छु, जसमा तपाईहरू सबैको सहयोग आवश्यक छ।'
कैलाली जिल्ला प्रदेश राजधानी रहेको, भारतसँग करिब १०० किलोमिटरभन्दा बढी सीमाना जोडिएको र सबै क्षेत्रका नागरिकको घुलमिल भएको जिल्ला भएकोले यहाँ प्रहरीको जिम्मेवारी थप गम्भीर रहेको एसपी राणाले बताए।
उनले तस्करी नियन्त्रणदेखि लागुऔषध रोकथामसम्मका चुनौतीहरूलाई प्राथमिकतामा राखेर अघि बढ्ने उल्लेख गरे।
'सिमा क्षेत्रमा हुने तस्करी, लागुऔषधको कारोबार नियन्त्रण, नागरिकको जिउधनको सुरक्षा र अवैध क्रियाकलाप नियन्त्रणमा प्रहरीको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ,' एसपी राणाले भने, 'हामी ती सबै दायित्व बोध गरेरै काम गर्छौं, जसले नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्न सकून्।'
कैलाली आएका आफूलाई एक साता मात्र भएको उल्लेख गर्दै एसपी राणाले स्थानीय अवस्था र समस्याहरू बुझ्ने प्रक्रियामा रहेको बताए।
'समस्या बुझेर त्यसको समाधान खोज्दै अघि बढ्नेछु,' उनले स्पष्ट पारे। त्यस्तै, एसपी राणाले प्रहरीको आचरण सुधारलाई पनि प्राथमिकता दिने प्रतिबद्धता जनाए ।