काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुर पछिल्लो समय बदनामित हुँदै गएको छ । कार्यालय प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारी निरीह बन्दा ललितपुर प्रहरी केही घटनाका कारण बदनामित हुँदै गएको हो ।
पछिल्लो समय ललितपुर प्रहरी मातहतमा रहेका प्रहरी कर्मचारीहरु अवैध गतिविधिमा संलग्न हुँदै हिरासतसम्म बसेका छन् । जस कारण ललितपुर प्रहरी बदनामित बनेको छ ।
उनी सुरक्षा व्यवस्थाभन्दा पनि बढी मदिरापानमा लिप्त हुने गरेको आरोप छ । सोही मौकाको फाइदा त्यहाँ रजगज भएका प्रहरी कर्मचारीहरुलाई छ ।
ललितपुर परिसरको फैसला कार्यान्वयन शाखामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) पार्वती उपाध्यायमाथि मिलेमतोमा आर्थिक लाभ लिने गरेको यसअघि नै विभिन्न सञ्चार माध्यममा समाचार सार्वजनिक भइसकेका थिए ।
त्यसको केही समय अर्थात् गत चैत २९ गते उनलाई कारबाही स्वरूप काठमाडौं उपत्यका विशेष सुरक्षा त्रिपुरेश्वर काठमाडौं पठाइएको थियो । उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ललितपुर परिसरबाट कारबाही स्वरूप सरुवा गरेको हो ।
सरुवा भएको एक महिना पुग्दा पनि सई पार्वती त्यहाँबाट टसमस भएकी छैनन् । उनलाई एसएसपी अधिकारीले नै संरक्षण गरेको आरोप छ ।
सई पार्वती प्रहरी परिसर ललितपुरमा लामो समयदेखि घुमुवाको रूपमा कार्यरत रहेको बताइएको छ । उनले प्रहरीको सरुवा निर्देशका मापदण्डको धज्जी उडाएकी छन् ।
सामान्यतया सिनियर अफिसरलाई एक वर्ष, जुनियरलाई दुई वर्ष र जवान तथा हवल्दारलाई पाँच वर्षमा सरुवा गर्नुपर्ने मापदण्ड छ ।
तर सई पार्वती सरुवा हुँदा पनि अन्त गएकी छैनन् । उनीमाथि प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन समिति र हेलो सरकारमार्फत उजुरीको चाङ नै लाग्ने गरेको बताइन्छ ।
यस्तै प्रहरी परिसर ललितपुर बदनामित हुनुको अर्को घटना प्रहरी सहायक हवल्दार सुनिल परियारको हो । ती सहायक हवल्दार पनि ललितपुर प्रहरीको फैसला कार्यान्वयन शाखामा कार्यरत छन् ।
उनीमाथि वैशाख १९ गते नख्खीपोट ललितपुरमा एक मासु पसल सञ्चालन गर्ने व्यवसायीकी श्रीमतीलाई यौन दुर्व्यवहार गरेको आरोप छ । त्यसपछि पीडितले सहायक हवल्दार परियारविरुद्ध प्रहरी वृत्त सात दोबाटो ललितपुरमा निवेदन दिएका थिए ।
तर उनलाई पक्राउ परेको तीन दिनमै छोडिएको थियो । उक्त घटनामा पनि मोटो रकम चलखेल गरेर प्रहरी सहायक हवल्दारलाई मुद्धा नचलाएर छोडिएको आरोप छ । पीडितलाई आर्थिक प्रभावमा पारेको स्रोत बताउँछ । उक्त घटना गुपचुपमै मिलाइएको थियो ।
यस्तै प्रहरी हवल्दार भरत बस्नेतको टिकटक काण्डले पनि प्रहरी परिसरको साख गिरेको छ । उनले टिकटक लाइभमा एक महिलासँग आपत्तिजनक कुरा गरेका थिए । त्यसपछि उनी वैशाख २९ गतेबाट जाउलाखेल प्रहरी परिसरको हिरासतमा छन् ।
प्रहरी संगठनको नीतिविपरित अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा उनी थुनामा परेका हुन् । उनीमाथि कारबाही प्रक्रिया अगाडि बढेको छ ।
यस्तै वैशाख १७ गते मातहतको प्रहरी प्रभाग बालकुमारीमा कार्यरत प्रहरी जवान किरण परियार लागुऔषध (खैरो हेरोइन) विक्रिवितरण गरिरहेको अवस्थामा पक्राउ परेका थिए ।
उनलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले ६७ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो । हाल कोटेश्वरले नै लागु औषधमा मुद्धा चलाइरहेको स्रोत बताउँछ । एसएसपी अधिकारी यी घटनामा संलग्न भएकाहरुबारे बेखबर जस्तै छन् ।
साथै कार्यालय प्रमुख अधिकारीको कमजोर कमान्डका कारण यस्ता घटना घटिरहेका हुन् । अस्ति भर्खरै सरुवा भएर जिल्ला प्रहरी कार्यालय धनुषा गएका तत्कालीन एसपी नरहरि रेग्मीको बिदाइसमेत नभएको स्रोत बताउँछ । त्यसमा पनि कार्यालय प्रमुखको कमजोरी रहेको स्रोत बताउँछ ।
यी घटनाले प्रहरी परिसर ललितपुर बदनामित बनेको छ । एसएसपी अधिकारीले अझै पनि बदनामित व्यक्तिहरूलाई जिम्मेवारी दिइरहे भने झनै जिल्ला प्रहरी परिसर ललितपुरको साख घट्ने देखिन्छ ।
सई पार्वतीको खण्डन
सई पार्वतीले उक्त समाचारको खण्डन गरेकी छिन । उनले समाचारमा उल्लेखित आरोपहरुमा सत्यता नभएको बताइन ।
ती आरोपहरुमा आफ्नो कुनै पनि संलग्नता नभएको दाबी गर्दै आफूविरुद्व लगाइएका आरोप कपोकल्पित भएको जिकिर उनको छ ।
उनले आफू १५ वर्षदेखि घुमुवाको रुपमा पनि कार्यरत नभएको दाबी गरिन् ।